पोखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको छैटौँ स्थापना दिवस तथा कवि लक्ष्मी थापाको कविता कृति ‘मौन सुस्केरा’ माथिको परिचर्चा कार्यक्रम आइतबार पाेखरामा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रा. डा. पुष्पा के.सी. भण्डारीले प्रतिष्ठानले छोटो अवधिमै साहित्य, सिर्जना र नारी प्रतिभाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। साहित्य जीवन र समाजको ऐना मात्र नभई संवेदना, चेतना तथा सकारात्मक परिवर्तनको माध्यमसमेत भएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई साहित्यसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा साहित्य शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’, सल्लाहकार प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’ तथा कवि लोचना अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कवि लक्ष्मी थापाको कविता कृति ‘मौन सुस्केरा’ माथि समीक्षक टुकादेवी आचार्यले परिचर्चा प्रस्तुत गर्नुभएको थियो। उहाँले कृतिमा जीवनका भोगाइ, अनुभूति, संवेदना तथा नारी मनका सूक्ष्म भावनालाई कवितात्मक रूपमा अभिव्यक्त गरिएको बताउनुभयो। ‘मौन सुस्केरा’ शीर्षकले कृतिभित्रका मौन पीडा, अनुभूति र आशाका विविध तहलाई प्रतिनिधित्व गरेको उहाँको भनाइ थियो। त्यसैगरी शुभ शर्माले कृतिमा समावेश कविताहरू वाचन गर्नुभएको थियो भने कृतिकार लक्ष्मी थापाले आफ्नो सिर्जनायात्रा तथा ‘मौन सुस्केरा’ कृतिका विषयमा मन्तव्य राख्नुभएको थियो।
प्रतिष्ठानकी अध्यक्ष छन्दिका त्रिपाठीले छ वर्षको यात्रालाई साहित्य, सिर्जना र नारी प्रतिभालाई जोड्ने अर्थपूर्ण यात्राका रूपमा स्मरण गर्नुभयो। उहाँले नारी सिर्जनालाई प्रशंसामा मात्र सीमित नराखी समाजको चेतना र पहिचानसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो
कार्यक्रमको सञ्चालन प्रतिभा शर्माले गर्नुभएको थियो। नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले आफ्नो छ वर्षे यात्रामा नारी प्रतिभा तथा साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै आएको र आगामी दिनमा नयाँ पुस्तालाई साहित्यसँग जोड्दै नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप सक्रिय हुने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।